तरुण तपसी/09

From Wikisource
Jump to navigation Jump to search
तरुण तपसी  (1953) 
by लेखनाथ पौड्याल

अलि बेर अडी चल्यो जब
मुनिको मञ्जुल ओष्ठपल्लव।
अनि वाक्यसुधा बह्यो उही
अथवा जीवनको फुक्यो बही।।1।।

ठुला साना लाखौं पथिकहरूका लाखन थरी
चमत्कारी चाला हरबखत आलोकन गरी।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
लड्यो भोको यौटा अतिथिजन आई नगिचमा।।2।।

न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
बितायो वा काट्यो कटकट किटी दन्त रजनी।।3।।

निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बटुवामा घर गरी।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृतिमूर्छा, शिथिलता।।4।।

कठै चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कलेटीको खस्रो अति मलिन रेखा अधरमा।
गडेका खोपा झैं नयनयुग, आँशू गहभरी
बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी।।5।।

सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।।6।।

क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी।।7।।

कठै त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो।
भयें केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी।।8।।

विधाता माताको स्तनयुगलमा स्तन्यरसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला? कुन कठिनता यो हरि हरि।।9।।

किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्यविभव।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित?।।10।।

धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, करचरण माटोमय गरी।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली।।11।।

धरित्रिको मायाप्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी।।12।।

सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौं के लाखौं किसिमसित धाँजा परि परी।।13।।

सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल।
भुली मातानाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी।।14।।

भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि।
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।।15।।

गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको।
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
दरिन्थ्यो पृथ्वीको ऽ:अमर नगरीऽ: नाम बहिमा।।16।।

कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै मेरा आँशू तरतर बहन्छन् किन किन?।।17।।

हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्यरहित।।18।।

बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि।।19।।

गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको?।।20।।

यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको?
कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको।।21।।

न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल।
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल?।।22।।

न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ।
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय कसको?।।23।।

कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी।
तमासा यो हो वा विधिनियमको घोर भुल हो?
दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो?।।24।।

गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा?।।25।।

नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि।।26।।

थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी।
कठै जान्दो हो ता नियम परपीडाहरणको
छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।।27।।

ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी।
कठै पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो।।28।।

यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले।
म पनि अति हलुङ्गो हातले अश्रुधारा
पुछिकन चुप लागें, सन्न भो देह सारा।।29।।