तरुण तपसी/08

From Wikisource
Jump to navigation Jump to search
तरुण तपसी  (1953) 
by लेखनाथ पौड्याल

यसरी बहँदो घरी घरी
मुनिको शीतल सूक्तिमाधुरी।
बिचमा जति रोकियो उति
दिन थाल्यो नव भावजागृति।।1।।

फराकीलो चौकीउपर बलियो आसन कसी
म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी।
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
मलाई सुम्पन्थे पल पल शुभाऽऽशी हृदयले।।2।।

मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
बिसाऊन् वा जन्तीहरु वरबधूसाथ सुकिला।
समानै दिन्थें ती उभयकन छाया म तिनको
स्वयं लिन्थें छाया प्रणयसित सम्पूर्ण मनको।।3।।

छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
कुनै त्यागी होस् वा विषयरस रागी लखपति।
समानै ठान्थें ती विधिविहित चैतन्यपुतली
पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि।।4।।

समै भित्री श्रद्धा, सम अतिथिसत्कारविधि त्यो
समै प्यारो चौकीमय चहकिलो शान्तिनिधि त्यो।
थला मारी झुल्थें म पनि समताकै रहरमा
थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा।।5।।

जगद्धात्री देवी प्रकृतिजननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि।।6।।

अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखें उस विषमताले फनफनी।।7।।

घडी झुम्रेझाम्रे मलमलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियें साक्षी जस्तो सकल बटुवाको म बिचमा।।8।।

झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थें म पनि गहना त्यो सुपथमा।।9।।

जती प्यूँथ्यो चौकी गरम पसिना पान्थजनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको।
म भन्थें तत्कालै पर पर पुर्याईकन भुजा
यता झर्ने चर्का रविकिरण पार्छू सब कुजा।।10।।

कडा राँको जस्ता रविकिरणको ताप फिंजिंदा
कठै बाटोघाटो रिपुमुलुक झैं दुर्गम हुँदा।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति।।11।।

जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तहबह।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा।।12।।

लगाई गालामा करकमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रसझरी।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली।।13।।

कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु।।14।।

कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी।
कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस्
म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस्।।15।।

बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना।
उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्यशिखर।।16।।

बित्यो एवंरीत्या सकल दिन, सन्ध्यासमय भो
जटामा त्यो सारा रविकिरणधारा विलय भो
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि।।17।।

उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौं अगि सरे।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली।।18।।

कठै चाँडो चाँडो जठरहरिको पूजन गरी
सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा।।19।।

नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्यो त्यो सन्नाटा सकल ऽ:कुखुरीकाँऽ: रव गरी।।20।।

टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी।।21।।

कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली।।22।।

उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलिघरको।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
प्रभातीको ताना मधुर लिन थाल्यो पलपल।।23।।

हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा।।24।।

ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी।
चरा मानू नीराजनविषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी।।25।।

उता जोड्छन् नाता उदयगिरिमा वासरमणि।
यता छोड्छन् ताता सुखशयनको वासरमणी।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश।।26।।

नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर
म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय?।।27।।

अहो त्यो वेलाको रविकिरणमाला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी।
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको।।28।।

सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो।
थिये त्यो वेलाका सकल रसिला जीवनघडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी।।29।।

यति भनि तपसीले माथ केही झुकाये
मधुर वचनधारा कण्ठभित्रै लुकाये।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालें मुहार।।30।।