Jump to content

तरुण तपसी/10

From Wikisource
301494तरुण तपसी1953लेखनाथ पौड्याल

क्षणमात्र रह्यो र त्यो घना
मुनिको मौन समाधिभावना।
अमृतद्रव झैं बनीकन
बहँदै गो फिर कर्णपावन।।1।।

जगत्मा सल्केको निलिकन सबै मानवपना
असन्तोषी दोषी अति विकट त्यो दानवपना।
तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा
रुँदै बाधा पोखें प्रकृतिजननीका पयरमा।।2।।

हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल।।3।।

कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ।
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन
नशक्नाले सल्क्यो जननि मनमा शोकदहन।।4।।

नपाई खाना क्यै उदरगत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवनकलि।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय।।5।।

उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब।
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ।।6।।

नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला? किन मकन पार्यौ सकसमा?।।7।।

पुकारा यो सारा विकल बटुवाखातिर गरी
झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन्।।8।।

म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
अहो कस्तो लीला? प्रकृतिजननीको हरि हरि।।9।।

अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको।।10।।

मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायें शिरभर सबै लर्कन सरी।।11।।

बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा।
ठुलासाना नाना थकित बटुवाका नजरको
भयें मानू तारो उस बखत त्यो मार्गभरको।।12।।

थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु।।13।।

खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
घुमीहाल्यो मानू निमिषमय भै धेर पटक।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल।।14।।

सबै आऊन् पाऊन् कठिन तपको उज्ज्वल फल
नहोस् तेरो मेरो भनि कलह यद्वा खलबल।
म भन्थें, त्यो सारा पटु पवन म्यानेजर बनी
सबैलाई दिन्थ्यो महकमय विज्ञापन पनि।।15।।

चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा।।16।।

विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको।
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी।।17।।

सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ भनी।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा।।18।।

हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः।।19।।

जती जो चाहिन्थ्यो जठरहरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो।।20।।

कठै रित्तो पारीकन सब सदावर्तभवन
हरी सारा साजा पथिकजनको जीवनधन।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला? हरि हरि।।21।।

सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा।
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी।।22।।

वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी।
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्तिज्वालामा मुफत किन जल्छन्? हरि हरि।।23।।

जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चयकला।
शिकायो होला वा मनुजपशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि।।24।।

न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु?
गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु?
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।।25।।

अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै छुट्दा चोला नियतिवश होला कुन गति?।।26।।

यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा।।27।।

ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा।।28।।

विधाताले लाखौं अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा।।29।।

यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट।
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
पलामा पार्नेछन् भुवन उनले भस्मभवन।।30।।

कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।।31।।

चराले झैं चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी।
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा।।32।।

जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल।
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन?।।33।।

अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली।
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा।।34।।