ऋतु विचार/06

From Wikisource
Jump to navigation Jump to search
ऋतु विचार  (1916) 
by लेखनाथ पौड्याल

ग्रीष्मको गरमीभित्र घुमी खायेर चक्कर।
कविको लेखनी दौड्यो वर्षावर्णनखातिर।।1।।

प्रजाको हर्षका साथ जल वर्षा गरीकन।
आईपुगी प्रिया वर्षा, वर्षतुल्य बने दिन।।2।।

समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा।
झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा।।3।।

सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन।
मानोमयूर उफ्रन्छ लोकको दङ्ग भैकन।।4।।

छोडी क्षितिजको रेखा सुस्तसुस्तै उँभोतिर।
मैनाकतुल्य त्यो कालो उठायो मेघले शिर।।5।।

देखिन्छ नयनाऽऽनन्दी उसकी कान्तिमाधुरी।
टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी।।6।।

खिंची लपलपाऽऽकार तर्बार बिजुलीमय।
गर्जन्छ रणमा मत्त वीर झैं मेघ निर्भय।।7।।

शिवले विष झैं सारा चक्रो गर्मी पिईकन।
थाल्यो कि बिजुलीजिभ्रो काढी मेघ मडारिन?।।8।।

घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ।
घरी त्यो नगरातुल्य जोरले घुहुनाउँछ।।9।।

अथवा जलको भारी गह्रुङ्गो भै गलीगली।
चल्छ त्यो बिजुलीरूप लट्ठी टेकी अलीअली।।10।।

बिजुली नामको यद्वा छहरा अति निर्मल।
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्ल?।।11।।

यस्तै छ जीवनज्योति अँध्यारामा भनीकन।
देखायो विधिले यद्वा बिजुलीको निदर्शन?।।12।।

मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ।
विश्वको जीवनज्योति उसैले जग्मगाउँछ।।13।।

जो त्यो मिलमिलीरूप मेघको मन्दहास छ।
उसमा तीव्र गर्मीका बलको उपहास छ।।14।।

हास्यगर्भित गम्भीर सुन्दा त्यो मेघगर्जन।
सारा संसार सम्झन्छ भावि सौभाग्यसूचन।।15।।

मेघमाला मिले एकैछत्त भै गगनैभरी।
उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी।।16।।

नाट्यशाला छ आकाश, नाचले बिजुली नटी।
ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी।17।।

घरीघरी त्यो देखिन्छे मेघमा बिजुली परी।
कृष्णका काखमा मानू लेटेकी राधिकासरी।।18।।

राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरीथरी।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभासरी।।19।।

जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो।
मेघले बिजुलीरूप झण्डा विजयको गड्यो।।20।।

घनक्क पारी घन्काई गम्भीर जयडिण्डिम।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम।।21।।

पहिला जलका बिन्दु जोरले जुन आउँछन्।
रूपमा पुतलीतुल्य धूपमा ती बिलाउँछन्।।22।।

पहिले पृथिवीमाथि वर्षंदा जल दर्दरी।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी।।23।।

साना सीकरले सारा अङ्ग सर्र रसाउँछ।
स्वर्गीय सुखवर्षाको मनमा हर्ष आउँछ।।24।।

रसले रसिली पारी तातेकी पृथिवीकन।
नगीचैमा बसी मेघ लाग्यो भारी मजा लिन।।25।।

वर्षन्छ जलको धारा मेघबाट जती जती।
विरही जनको छाती शुकदो छ उती उती।।26।।

वर्षंदा जलका धारा मानू मानवजातिका।
स्वर्गसम्म पुर्यायेका तार झैं छन् जुदा जुदा।।27।।

सारा सागरको खार चालने चलनीसरी।
घुमदै स्वादिलो पानी मेघ छर्दछ छर्छरी।।28।।

समानै जल सर्वत्र विवेकी मेघले दियो।
समदर्शी महात्माको पक्षपात कहाँ थियो?।।29।।

हावाको रूपमा चल्छ जहाँ दुर्भाग्यको बल।
वर्षंदैन उहीं मात्र मेघको जल शीतल।।30।।

कालो भये पनी केही मेघको बाहिरी द्युति।
झल्कन्छ चित्तरेखामा भित्र उज्ज्वलता अति।।31।।

विश्वको दुःख देखेर दयाधारी पयोधर।
नपग्लेको भयेदेखी के रहन्थ्यो चराऽचर?।।32।।

न स्थान, मान चाहन्छ जाति, पाति न गन्दछ।
जल वर्षाउँदा मेघ मानू ब्रह्मज्ञ बन्दछ।।33।।

पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैं।
शीतला जलधारामा भिजेको छ प्रजा सधैं।।34।।

घरी दरदराऽऽकार घरी सुस्तै सिमीसिमी।
जलवर्षा लगातार गर्छ मेघ घुमी घुमी।।35।।

चिरिन्छन् जलधाराले नलिनीपत्र चर्चरी।
दुर्वाच्यवाणवर्षाले साधुको हृदयैसरी।।36।।

दिन रात दुवै कालो पारी धुम्धुमियो झरी।
मुखपेट दुवै मैला भयेको दुर्जनैसरी।।37।।

झरीले छोपिराखेका वर्षाका दिन छन् सब।
अविद्याले अँठ्यायेका जीवतुल्य गतप्रभ।।38।।

अँध्यारो दिन देखेर चखेवी बिचरी चरी।
रुन्छे व्याकुलतासाथ रात्रिको भ्रान्तिमा परी।।39।।

जलवर्षा गरी मेघ तृप्त छैन कुनै दिन।
दाता देह छँदासम्म के गर्ला मुष्टिबन्धन?।।40।।

यताउता कतै कत्ति डग्दैन घनमण्डल।
लब्धभूमि महात्माको चित्त झैं अतिनिश्चल।।41।।

कहाँ सूर्य, कहाँ तारा, कहाँ नक्षत्रनायक।
देखिन्छन् कालले गर्दा जुन्किरी नै झकाझक।।42।।

दिने मेघ सर्यो माथि, लिने खोला बगे तल।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल।।43।।

वर्षाउँदा अहो यौटा मेघले जल सम्पति।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति।।44।।

लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ।।45।।

पियारी बिजुलीलाई लोकले खींचदामहाँ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ।।46।।

जथाभावी छरी पानी जुवाको हरुवासरी।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी।।47।।

जाती पानी कतै छैन, बाढीले सब मैलियो।
भलले कलिले तुल्य एकैछत्त गरीदियो।।48।।

मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ।
गुणलाई पनी मूर्ख दोषपूर्ण तुल्याउँछ।।49।।

धमिला भलका साथ माछा पनि बडे बडे।
कलिको सङ्ग पायेका दुराचारसरी बढे।।50।।

काला पहाडका सेता पानीमा छहरा छुटे।
कृष्णका छातिमा मुक्ताहारको उपमा लुटे।।51।।

दायाँ बायाँ दुवैतर्फ हान्दै खोला दगुर्दछन्।
संसारमा छुचा यस्तै काममा अगि सर्दछन्।।52।।

जरा खनेर खोलाले खसाले तीरका रुख।
छोटाको आड लागेर मिलदैन कतै सुख।।53।।

सारा कीटपतङ्गाऽऽदि आत्तिये भेलमा परी।
दारिद्र्यले डुबाएका भारतीय प्रजासरी।।54।।

घुमाई लहरीहात दौडन्छन् नाचदै नदी।
दानी पयोदको दिव्य झल्काई कीर्तिकौमुदी।।55।।

लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ।
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ।।56।।

कलिले श्रौतयागामि कर्म झैं बटुवाकन।
झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण।।57।।

पार जाने डुँगा साँघु उडायो भलले सब।
छोटो बढेपछी विघ्न नगरी छोडला कब?।।58।।

हिले आहाल देखिन्छन् धमिला भलले भरी।
ज्यादा दुर्वासनाजाल जमेका हृदयैसरी।।59।।

फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ।
हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ।।60।।

छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी।
पाखण्डी लतले हाम्रो राम्रो वेदपथैसरी।।61।।

नौनीसमान वर्षाले गालेको भूमिभाग यो।
करुणाले पगालेको सज्जनैतुल्य देखियो।।62।।

कुल्चदामा पनी गज्ज पर्ने मूर्खसमानको।
हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको।।63।।

लोकोपकारमा जत्ति खर्चन्छ जलसम्पति।
उत्ती उज्यालो देखिन्छ मेघको वदनद्युति।।64।।

बाँध बाँधीदिंदा सोझै चढ्यो पानी कुलाभरी।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी।।65।।

बेसरी गाँजियो रोपो कुलाको जलले गरी।
पुर्खाको धर्मधाराले पह्लायेको कुलैसरी।।66।।

खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी।
दुःखका चोटले गर्दा धीरको धीरतासरी।।67।।

अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि।
तृणसम्पत्ति पायेर बनेर सौन्दर्यका धनी।।68।।

ग्रीष्मतप्त वसन्तश्री नुहाई पोखरीमहाँ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपभा अहा?।।69।।

कोइलीको मिठो बोली बिलायो कालले गरी।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी।।70।।

अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल।।71।।

भ्यागुताको जहाँ वास वहीं कमल फुल्दछ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ।।72।।

कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश।।73।।

संसार यो हिलो सारा पद्मको रस मुक्ति हो।
जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो।।74।।

अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट।।75।।

मानू स्वर्गीय सङ्गीतकलाको दिव्य माधुरी।
वर्षन्छ जलधाराको साथैमा त्यो थरीथरी।।76।।

आकाशगृहमा काली बुढिया मेघमालिका।
घुम्दछे रातमा बाली बिजुलीमय दीपिका।।77।।

खेतमा जलका धारा वर्षंदाखेरि बाहिर।
उर्लन्छ खेतिवालाका मनमा सुखसागर।।78।।

विरहीजलको श्रेणी आँशुले परिपूरित।
पला पलामा दाँजिन्छ वर्षाको रजनीसित।।79।।

पखालियो, बग्यो गैगो भलमा पुष्पको रस।
भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस।।80।।

विधिले फूलको सार कदम्का फूलमा भरी।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी?।।81।।

गुणका भारले नम्र गुणीतुल्य अली तल।
झुके दारीमका हाँगा लागनाले ठुला फल।।82।।

वनमा विरही बोली बोल्दछन् न्याहुलीचरी।
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी।।83।।

मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन।
थाले मयूरका भाले नाची नाची कराउन।।84।।

विरहीजनको छाती बन्चराले सरी चिरी।
बोल्दछन् मत्त भै तित्रा तित्तिरी, तित्तिरी गरी।।85।।

मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर।
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र?।।86।।

तामे ढुक्कुरका भाले करायेर घुमी घुमी।
नाचेका देखदाखेरी मन हुन्छ रिमीझिमी।।87।।

नाचे पुच्छर हल्लाई बोली फेरि चिभेचरी।
वियोगिनी निभायेका कालका दूतिकासरी।।88।।

झर्नाले शिरको सारा भुवा सारौं कठैबरी
मुडुला भै घुमेका छन् मानू क्षपणकैसरी।।89।।

इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरीथरी।
अप्सराले खसालेका रत्नका हारको सरी।।90।।

गर्मीरूपी बडो तेजी अल्झेको मेघपाशले।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले?।।91।।

अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती।।92।।

लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो झुल।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल?।।93।।

घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम भो।
अहिले घूमको काम, घूमघाम तमाम भो।।94।।

साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी।
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि।।95।।

बिझाउने बडा ठाडा देखदा बाँसका मुना।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना।।96।।

हेरी नशकनू पारी परखाल बडेबडे।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे।।97।।

धपक्क मेघको घुम्टो हाली कुलबधुसरी।
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी।।98।।

लोकोपकारमा सुम्प्यो मेघले सब जीवन।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन?।।99।।

वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ।।100।।

हुन त मधुर मेरो छैन वर्षाविचार
नजर गरनुहोला तैपनी एक बार।
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
गरदछ कविलाई प्रार्थना लेखनाथ।।101।।