ऋतु विचार/05

From Wikisource
Jump to navigation Jump to search
ऋतु विचार  (1916) 
by लेखनाथ पौड्याल

हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।।1।।

उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब।
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।।2।।

हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।।3।।

थपी हेमन्तको भन्दा बढता वातसङ्कट।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।।4।।

दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल।
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।।5।।

सारा शरीरमा शीत फैलिँदामा पनी सब।
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।।6।।

दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी चिरी।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी।।7।।

हिमका बहुतै साना परमाणु हवाभरी।
मिलेका छन् करौंतीका तीखा दन्तशिखासरी।।8।।

हुर्रहुर्र चिसो हावा हुर्हुरायेर आउँछ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ।।9।।

रोमाञ्च शिशिरैमा झैं सर्वदा उठने भये।
सब मानिस दुम्सी झैं काँटादार हुने थिये।।10।।

कडा बतासले जाडो जागेको छ घरीघरी।
जनसङ्गतिले कच्चा योगीको वासनासरी।।11।।

भूकम्पकालको रङ्ग पापी शिशिर ल्याउँछ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ।।12।।

हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू।
अघिको आफनू चाल छोडिदिन्छ कठै मुटू।।13।।

घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी।
भूकम्पकालमा अग्ला कौसी बुर्जाहरूसरी।।14।।

आयो शिशिरभैंचालो कमाई लोक थर्थरी।
सफा सुघरका गाला चिरिये सब चर्चरी?।।15।।

अडिने साहसै छैन चाहन्छन् सब पल्टनै।
खुला दोकान को राख्छ गलेबन्दभयेकुनै?।।16।।

मानिस बाहिरै निस्के चौरको खोजनी गरी।
मरीयो कम्पले भन्दै देखिन्न पुरमाधुरी।।17।।

वर्षेकोहिमले कोही भये पल्टेर सोत्तर।
युद्धको सम्झना भेगो उत्तिखेरै सबैतिर।।18।।

मैलो शिशिर यो नामी धामी झैं जम्जमाउँछ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ।।19।।

शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ।
हुर्रहुर्र हवारूप फूँक त्यो खूप भर्दछ।।20।।

बेढङ्गी चालले हर्दम् दन्तमाला चलाउँछ।
मानू धूपधुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ।।21।।

मसिना असिनारूप अक्षता पनि छर्छरी।
छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी।।22।।

श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ।।23।।

मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ।
जगाई भोकको भूत रोगदासु धपाउँछ।।24।।

पानी कठै छुनासाथ असाध्य ठिहिर्याउँछ।
बिच्छीका डङ्कको ज्वाला तालुसम्म पुर्याउँछ।।25।।

जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन।
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन।।26।।

आकाश रुँदिंदै आयो केही मैलोपना धरी।
भित्री कुकर्मचिन्ताले सतायेको मनैसरी।।27।।

रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी
दुर्भाग्य दोषले ज्यादा दबायेका गुणीसरी।।28।।

अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन।
उज्यालो मुक्तचेष्टा झैं नष्ट भो सूर्यदर्शन।।29।।

रुँदका रूपमा यद्वा शीतव्याकुल लोकको।
आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको।।30।।

हिमको तकिया तानी ओढी त्यो रुँदसीरक।
आफैं शिशिर लेट्यो कि पन्छाई रविदीपक?।।31।।

हटदैन बिना बूँद मैलो रुँद कसै गरी।
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी।।32।।

दिक्कगर्छ सबैलाई माघको सिम्सिमे झरी।
ज्यादा कचकचे चाङ्ने घरखोते बुढोसरी।।33।।

खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि।
पानी अलिअली दिन्छ मेघ कञ्जूस झैं बनी।।34।।

वर्षाको त्यो महादानी मेघको महिमा सब।
गरीबीपनले हो कि खुम्चियेछ पुरा अब?।।35।।

न त पानी कतै बस्छ न कतै भल चल्दछ।
प्राणीको शास्तिका साथ खालि जमिन गल्दछ।।36।।

वातले खुम्चिनूपर्ने अँध्यारो माघको झरी।
बताउनै बडो गाह्रो दुःखीको जीवनीसरी।।37।।

न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ।
दुःखको भोग झैं लम्बा झरी लम्लष्ट चल्दछ।।38।।

कर्मजञ्जाल झैं मैलो झरीका वशमा परी।
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी।।39।।

धुनीमा सब धुम्मिन्छन् श्रद्धासाथ घरीघरी।
दुःखमा देवताजस्तै भगवान्को वरीपरी।।40।।

कोही काखविषे राखी अग्निले पूर्ण अट्टल।
योगी झैं परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल।।41।।

लामा लामा बिरालीको गोडामा ताँति लाग्दछ।
तैपनि घरमा मूसो असाध्यसित जाग्दछ।।42।।

लुगामाथि लुगा खाप आगो ताप घरीघरी।
स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी?।।43।।

काम सातोलिने मात्र, नाम सातोदिने झरी।
कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी।।44।।

हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी।।45।।

तिर्सनाजाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी।
कान्तिले दिन झल्कन्छ शान्तिपूर्ण मनैसरी।।46।।

ठण्डीका पिरले मानू हिम आफैं उँधोतिर।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर?।।47।।

नगीचको रुखो डाँडो हिम पर्दा हिमालको।
देखिन्छ फेटा बाँधेको मूर्ति झैं उग्र कालको।।48।।

दाह्रातुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख।
बायेको पहरारूप चौतर्फी गहिरो मुख।।49।।

हिमाचल नदीरूप पुत्रीलाई धमाधम।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम?।।50।।

सारा नदनदी सेतो काँठो सलिलमा परी।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्लागण्डकीसरी।।51।।

घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैं।
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैं।।52।।

हिमालका नदीभित्र हिमको त्यो कडापन।
भरिनाले सबै लागे हिम झैं गँगर्याउन।।53।।

त्रिशूली, कौशिका, कृष्णागण्डकीहरुले शिर।
लुकाये हिमको घुम्टो हाली टम्म उँभोतिर?।।54।।

थिचँदैछ तुषाराले सारा कमलको वन।
नयाँ विचारधाराले धर्मजस्तै सनातन।।55।।

पद्मपत्र सडे सारा हिलामा ती कठैबरी।
गुणग्राही नपायेर मिल्कियेका गुणीसरी।।56।।

उस्तो जनमनोहारी भरिलो पद्मसंहति।
डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति।।57।।

नपारी बाहिरी ताप देखाई शीतलोपन।
कठै शिशिरले साह्रै शुकायो रसिलो वन।।58।।

खडाखडै सबै सिट्ठी बने तेसै वनस्पति।
प्रमेहरोग लागेका रोगी झैं लागने अति।।59।।

न ता वृक्षविषे पात, न ता झार कतै रति।
जता हेर्यो उतै खाली उराठै लागने अति।।60।।

हालमा नयनाऽऽनन्दी हरियो कान्तिमाधुरी।
गहुँबारीसिवा अन्त छैन यो पृथिवीभरी।।61।।

गहुँका हरिया साना पातमा बिन्दु शीतका।
पन्नामाथि जडायेका मोती झैं देखिये निका।।62।।

पापी शिशिरको सेतो शीतको शीतनिर्मित।
छाता झैं रातमा चन्द्र देखिन्छन् शैत्यपूरित।।63।।

उनै पूर्णकलाधारी सुखकारी सुधामय।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय।।64।।

धामीतुल्य सबै लोक काँपेका देखि थर्थरी।
चन्द्रले चाँदनीरूप खित्का छोडे कि बेसरी?।।65।।

चीसो तपतपाऽऽकार चाँदनीरूप चादर।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर?।।66।।

हालमा चन्द्रको छैन सूर्यको झैं प्रशंसन।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्पन?।।67।।

भयेदेखि हिजोआज उनै साथी उनै मनी।
सहसा शीतबाधाले सकदैन छुनै पनि।।68।।

बढालू रसिला सोझा जातिजम्मा उखूकन।
लोक लाग्यो विजेता झैं चूर्ण पारी चपाउन।।69।।

मुस्कीलले घुमेका छन् कोल काईंकुईं गरी।
प्रारब्धको घचेटामा बिचरा जज्जनैसरी।।70।।

प्रारब्धयन्त्र झैं कोल, उखू विषय कर्कश।
कष्टसाथ चलायेर झिक्नुपर्छ सफा रस।।71।।

समाती कोलको कात्री कष्टसाथ कठैबरी
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी।।72।।

कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब।
अन्तरैमा परी जान्छ सोझाको गुणगौरव।।73।।

धूलोपिठो भए सारा उखू त्यो कोलमा परी।
कालका मुखमा मानू सृष्टिको महिमासरी।।74।।

हेमन्तकान्ति कालिन्दी, वासन्तीकान्ति जाह्नवी।
प्रयागतुल्य दोरङ्गा माझको शिशिरच्छवि।।75।।

वसन्त नगिचै आयो खुले केही दशै दिशा।
अरुणोदयबेलामा किन हुन्थ्यो महानिशा?।।76।।

घटदै घटदै आयो छटा हेमन्तको सब।
सङ्गमाफिकको रङ्ग सबैको हुन्छ वास्तव।।77।।

उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको।
अहो शिशिरको तेसै पाउने अब अन्त को?।।78।।

राम्रो वसन्त झैं पुच्छ, मैलो हेमन्त झैं शिर।
राख्यो शिशिरले खासा चोचोमोचो दुवैतिर।।79।।

पद्मिनीको महावैरी हिमको महिमा गयो।
मालिन्यदोषले शून्य सूर्यको बिम्ब देखियो।।80।।

मिली अब सती प्यारी पद्मिनी यो भनीकन।
राम झैं सूर्य लागे कि उत्तरैतिर फर्कन?।।81।।

वसन्तको कडा कोही अगुवा दूत झैं गरी।
मैलो सबै सफा गर्दै सबैतर्फ चल्यो हुरी।।82।।

बिचरा पान्थका लेखा भ्रामरीकै दशासरी।
लागीरहन्छ रस्ताभा दुःखदायी चिसो हुरी।।83।।

हावाको भुमरीभित्र धुलाको छ उही गति।
आफना कर्मका साथ जीवको हुन्छ जो गति।।84।।

माथीबाट झरे सारा पुराना पात बर्बरी।
शक्तिशून्य निरुद्योगी भाग्यका भक्त झैं गरी।।85।।

लागदा पश्चिमा हावा पुराना दलको स्थिति।
बदली वृक्षले केही देखाये सपने मति।।86।।

झुत्रा पात थिये अस्ति, झरे आज तिनी सब।
पालुवा पर्सि देखिन्छ, छैन केही असम्भव।।87।।

उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै।
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैं।।88।।

मरेतुल्य बगैंचाको कुनाकानी अली अलि।
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि।।89।।

कमायें जगतैलाई भनी शिशिर पागल।
खिस्स हाँस्यो कि देखाई दन्त झैं कुन्दकुड्मल?।।90।।

दाउरा पातका निम्ति वनभित्र पसीकन।
ग्रामीण रमणी थाले शालैज्यू गीत गाउन।।91।।

तुषाराले मरेतुल्य बनायेको वनै सब।
घन्क्यो घनक्क त्यै गीतप्राणसञ्चारले अब।।92।।

पह्लाये दुइचारोटा कलिला फूलका कलि।
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि।।93।।

आरू र आलुचा आलूबखडा पुष्पभूषित।
मानू वसन्तका दिव्य दूत झैं छन् उपस्थित।।94।।

लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी।
विलासीजनको वृन्द रमायेको छ बेसरी।।95।।

काट्यो जगतले जाडो धैर्यशस्त्र लिईकन।
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन?।।96।।

जडेको छ जथाभावी अवीर पुरमा सब।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव।।97।।

वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा।
क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा।।98।।

यो हो श्रीकृष्णलीलाको रश्मि यौटा पुरातन।
प्रकाश जसको हामी लिंदै छौं अझ पावन।।99।।

पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिरस्थिति।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति।।100।।

सकल ऋतुविचार प्रेमका साथ हेरी
गुण जति लिनुहोला दोषलाई नटेरी।
भनि सकल गुणीका सामने भक्तिसाथ
अतिशय झुकि बिन्ती गर्छ यो लेखनाथ।।101।।