विरहिणीका उपर सखीको प्रश्न

From Wikisource
Jump to navigation Jump to search
विरहिणीका उपर सखीको प्रश्न
by लेखनाथ पौड्याल

जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी
बसी वजन ठाउँमा नयन नासिकामा धरी ।
विचार कुन तत्वको गरदछ्यौ अकेली बनी
सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।।

शरीरभर बाहिरै झलकदा नशाजाल यो
विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो ।
झुकीकन महेशको गरदछयौ पुकारा पनी
सखी भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।२।।

घडी विकट भस्त्रिका स्मरण हुन्छ नि:श्वासले
घडी अचल भै तिमी अडदछयौ सुखाभासले ।
विलक्षण छ वायुको गति बुझन्न केही पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ?।।३।।

वहाइ पसिना घना खलखली, सही कम्पन,
बलैसित उठायिछौ सब सहस्र पत्रासन ।
झिजो बहुत मान्दछयौ अलिक बात चल्दा पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।४।।

चढयो अब शनै: शनै: पवन कण्ठमा भन्दछयौ
विशालतम विश्व यो सकल शून्य झै ठान्दछयौ ।
बसी फगत सुन्दछयौ मधुर शान्त गुप्ती ध्वनि
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।५।।

जिऊ सब शुकिशक्यो, पलक लाउँदीनै रती
कुनै विषयमा पनी सुमुखि ? छैन भन्छयौ मति ।
असम्भव छ के अहो अ-च-ल-यै हुनामा पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।६।।

घडी तिमि लगाउँछयौ फगत दृष्टि नाडीतिर
घडी विविध चक्रको विषयतर्फ दिन्छयौ सुर ।
विचारकन गर्दछयौ बहुत कुण्डलीको पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।७।।

घुमाइ मनमा सदा प्र ण व लाइ नै बेसरी
निरन्त-र-त-रङ्गको मधुर तान एकै धरी ।
मुनिव्रत लिंदालिंदै शुकिशक्ये यसै जीवनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।८।।

चढयो चढनुसम्म यो अ-त-नु-वेघको वैभव
खडा छ पिंजडविषे फगत 'हंस' मात्रै अब ।
म देखदिन खेचरी हुन विलम्ब कत्ती पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।

निरन्जन निरीह निर्भय नि-तान्त निर्लेप यो
स्वरुपकन देखदा मन सशङ्क मेरो भयो ।
दया गर अलीकती, बुझिन मर्म कत्ती पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।

This work is first published on Nepal and is now in the public domain because its copyright protection has expired by virtue of the Copyright Act, 2059 (2002). The work meets one of the following criteria:

  • It is an anonymous work or pseudonymous work and 50 years (before 1 January 1974) have passed since the date of its publication
  • It is a work created on payment of remuneration at the initiation or direction of any person or organization and 50 years (before 1 January 1974) have passed since the date of its publication
  • It is a photographic work or work of applied art and 25 years have passed since the year the work was created (ie. as of 2024, works published prior to 1 January 1999 are considered public domain).
  • It is another kind of work, and 50 years (before 1 January 1974) have passed since the year of death of the author (or last-surviving author)
  • It is a "court judgement or administrative decision"

Public domainPublic domainfalsefalse