बुद्धि-विनोद प्रश्न
कहाँ थियो वास, अघी म को थिएँ,
कसो हुँदा यो पिंजरा लिंदो भएँ ।
कहाँ छ जानू कुन साथ लीकन,
तँलाई मालुम् छ कि यो कुरा भन ? ॥१॥
कदापि कत्ती नलगाइ ठक्कर,
ग्रहादिलाई दिनहुँ निरन्तर,
घुमाउने को छ खडा भईकन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥२॥
अशेष आब्रम्हा पिपि लिका-तक
शरीर एकै उहि पान्च-भौतिक,
परन्तु भाग्यादि घटीबढी किन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥३॥
गुटूमुटू भैकन गर्भ जालमा
बसी कठै अन्जलि जोरि भालमा,
काराउँदा बन्धुहरु थिए कुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥४॥
पिएर गीतामृत, शान्त भैकन,
कुटुम्ब-हत्या-तिर लागनू किन,
किरीटिले तत्व बुझे अहो ! कुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥५॥
डटी जुत्ता कोट छडी लिईकन,
रवाफिं भै मोज मजा उडाउन,
खराब ठान्यो ऋषि-वृन्दले किन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥६॥
अनन्त बाटा बटुवा छ एक यो,
विचारमा रङ्मङिदा जनम् थया,
छँदैछ शङ्का अब कृत्य हो कुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥७॥
उही कुलो खेत बिऊ सबै उही,
उसै गरी रोपिदिए पनी कहीं ?
हुँदैन धान्यादिक चैत्रमा किन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥८॥
अगाडि अध्यात्मविषे थियो जति,
थिएन कि शिल्पविषे उती मति,
बनेन होला किन रेल बेलुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥९॥
नयाँ कुनै दुर्विन यन्त्रको रती,
सहाय केही नलिई ग्रह-स्थिति,
अगाडिकाले कसरी बुझेहुन्,
तँलाइ मालुम् छ कि यो कुरा भन ? ॥१०॥
म निस्कनाले जननी तिमीकन,
परेछ यो घोर अनर्थ चिन्तन,
म भित्र आएँ अब के छ लस्पस,
थपक्क बाबासित शान्त भैबस । ॥११॥
This work is first published on Nepal and is now in the public domain because its copyright protection has expired by virtue of the Copyright Act, 2059 (2002). The work meets one of the following criteria:
|