नेपालै नरहे

From Wikisource
Jump to navigation Jump to search

कवि परिचय[edit]

नेपालै नरहे कविताका रचनाकार कवि श्रीमाधव प्रसाद घिमिरे हुनुहुन्छ।राष्ट्रमहिमा र राष्ट्रियताका विषयहरुलाई उत्थान गर्दै देशभक्तिले भरिपूर्ण थुप्रै कलात्मक साहित्यिक कृतिहरु सिर्जना गर्नुभएका कारण उहाँलाई राष्ट्रकविको उपाधिले सम्मानित पनि गरिएको छ।

लय विधान[edit]

लोकछन्दमा रचना गरिएको यस गीतिकविताको लय मिठो र सरल छ।अत्यन्तै गेयात्मक रहेकाले गीतका रूपमा पनि यो कवितालाई गाइएको छ।यस कवितामा असारे भाकाको प्रयोग गरिएको छ।प्रत्येक पाउको ५औं र १०औं अक्षरमा विश्राम लिँदा उपयुक्त हुन्छ।

मूल पाठ[edit]

          नेपालै नरहे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।।
(१)

तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको।
माटो र पानी पहिलो धन धर्तीका छोराको।।
ए,कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे।
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।।
(२)

दशैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले।
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले।।
बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे।
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।।
(३)

आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न।
पौरखी हाम्रा पुर्खाका पाइला मेटेर मेटिन्न।।
बिम्झौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे।
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।।
(४)