तरुण तपसी/19

From Wikisource
Jump to navigation Jump to search
तरुण तपसी  (1953) 
by लेखनाथ पौड्याल

कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला।
मनले सब त्यो गमें पनि
फिर बोले मुसुकाउँदै मुनि।।1।।

अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर बतायें तिमिसित।।2।।

रहेंछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेंछु, भोगेंछु कति कति कुरा आसन कसी।
बुझे हौला मेरो कठिन सब त्यो जीवनगति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति।।3।।

म मात्रै के? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी।।4।।

भयेथ्यो यो पैले जुन बखत भूगोलरचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लयजलधिमा जीवन बगी।।5।।

पछी हामी प्यारा विविध उनका सन्तति भयौं
धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं।
बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन
पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन।।6।।

विधाताको हाम्रा उपर करुणागौरव छँदै
धरित्रीमा अन्धो मनुजकुलको जन्म नहुँदै।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
थिये मानू भाग्योदयजनित बुट्टा फुलजडी।।7।।

पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो
वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
कठै हाम्रो हत्या उस मनुजबाटै शुरु भयो।।8।।

खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ
धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ।
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये
जथाभावी जस्को मनुजहरुले जीवन लिये।।9।।

धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले।
थिये नानारङ्गी विविध तपसीरूप गहना
उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना।।10।।

सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा
सही चर्को बाधा जलदसित मागी जलकणा।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै।।11।।

हुरी, आँधीब्यारी, विकट हिमवर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति।।12।।

सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै।
सहन्छन् जो चर्को तपविषयको कष्ट कसला
कठै उस्को दिन्छन् प्रतिफल करौंती र बसिला।।13।।

गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तपकुसुमका मञ्जु कलिका।
जथाभावी तोड्दै मनुजकुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो।।14।।

त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धिसुषमा।
रहे बाँकी थोरै, हरकिसिमको छेदनविधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्युपरिधि।।15।।

ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौं थरि बनी
जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि।।16।।

कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै हात डुँडुला।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो? तदपि सब आनन्दमय छन्।।17।।

जटा, मासूछाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्भुत बल।।18।।

यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला।।19।।

कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी।
कठै त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि।।20।।

कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानलशिखा।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति?।।21।।

हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको? हरि हरि।।22।।

यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा।
म हेर्दैछू, सारा तन किरणरेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो।।23।।

बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि।।24।।

उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु
अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु।
बिलायो त्यो कालो सकल अघिको संशयनिशा
रँगायेको देखें तप र तपसीले दश दिशा।।25।।

विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य।।26।।