तरुण तपसी/06

From Wikisource
Jump to navigation Jump to search
तरुण तपसी  (1953) 
by लेखनाथ पौड्याल

करुणामय त्यो कथा सुनी
मुनि झैं खिन्न भयेर ती पनि।
चुपचाप थियें नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा।।1।।

शिकारीको झम्टा तनबिच परेथ्यो जब अनि
चरी बोल्यो चीं चीं गरिकन कठै व्याकुल बनी।
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता।।2।।

कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी।
दया माया छोडी मनुज कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी?।।3।।

न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।।4।।

सिधासादा, निर्धा उपर पिरबाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल।।5।।

तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह किन उल्टो परुषता?।।6।।

जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा।।7।।

तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी।।8।।

कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी।
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि
ऽ:चरी आः आःऽ: भन्थे, प्रणयवश पुग्थे रुखमनि।।9।।

हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा।
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन
कठै यो हत्यारोपन त उस वेला समझिनँ।।10।।

खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा।
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ? हरि हरि।।11।।

हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा।
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
बिरायें के मैले? किन धसिदियौ मृत्युमुखमा?।।12।।

पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले।
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा।।13।।

कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा।
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दनरव।।14।।

दुवै भालेपोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी?।।15।।

अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि?
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा।।16।।

कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी।
नहाने है बाबा विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशुमरणको पाप नलिये।।17।।

कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ
कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ।
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो
कठै मेरा लेखा अब सब कुराको प्रलय भो।।18।।

न चाँडो जाने भो सहजसित यो प्राणपवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै कस्तो पापी कति कुपित यो क्रूर नियति।।19।।

सिला खोजी चर्ने सफरसुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा।
सिधासादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले?।।20।।

नजानी आनन्दी मनुजकुलको उन्नतिकला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्यौ।।21।।

दया राखी हाम्रा उपर विधिले कार्यकुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा घरभरी।।22।।

चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी।।23।।

दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भवजलधिको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ।।24।।

म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै?।।25।।

मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी।।26।।

यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै।
अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि।।27।।

चराको झैं तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियतिगतिले तागत भने।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी।।28।।

बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
खरानी भै तिम्रो मनुज नगरोस् दीर्घ सुकला।।29।।

यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण।।30।।

व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।31।।